चौक्याल पाण्डेय उत्तराखण्ड स्थित चम्पावत जिल्ला अन्तरगत चौकी गाउँमा बसोबास गर्दै आएका र कत्युरी ठकुरी राजाको राज्य बिस्तार का क्रममा काली तरि पुर्व तर्फ दुर्ग सारेको अवस्थामा राजगुरु रहेका चौक्याल पाण्डेय पनि अरु जस्तै गरि काली तरेर नयाँ बस्तीमा बसेको पाइन्छ । चाय राजाको चाय कोट निर्माण पुर्व खुदाकोट दरबार थियो । खुदाकोटलाई केन्द्र बनाएर बस्ती ब्यबस्थापन गरिएकोमा कोटको मुख्य भारदार सिमल्ट्यालाई सिमल्टामा , चौक्याल पाण्डेयलाई चाखी( चौकी)मा बसाइएको पाइन्छ।उपमन्यु गोत्रीय उच्च कुलिन ब्राह्मण भएका दरबारको पण्डितको रूपमा रहेको देखिन्छ । कुल देवता नौलो,कुलदेवी भुवनेश्वरी रहेका चौक्यालले बस्ती स्तान्तरण कुल देवता तथा पुजनिय देवता डोकोमा बोकि ल्याएको मान्यता छ।कुल देवता चाखीमा र अन्य पुजनिय देवता बाह्र थान मधेसमा स्थापित गरि पुजा अर्चना गरेको पाइन्छ । उपमुन्य गोत्रीय चौक्याल पाण्डेय बाह्रथानी उच्च कुलिन मानिन्छ।
मानिसको वंश परम्परा ऋषिमुनि संग जोडिएको हुन्छ । ऋषिका सन्तान भएकाले गोत्र,प्रवर ऋषिमुनि संग जोडिएको वैदिक सनातनको पद्धति हो । सनातन धर्ममा गोत्र,प्रवर,वेद,शाखा,कुल संग जोडिएको हुन्छ।चौक्याल पाण्डेय उपमन्य गोत्र, उपमन्यु,कपिल,बिरुजी त्रिप्रवर, शुक्ल यजुर्वेदिय मध्यानिन्दी शाखा उच्च कुलिन ब्राह्मण मानिएको पाइन्छ । गोत्र परम्पराको प्रारम्भ ऋषि मुनी बाट भएको पाइन्छ । ऋषिमुनीहरुले नै श्रुतिको संग्रह गरेर वेदको रचना गरेको पाइन्छ।
पुर्विय शास्त्र तथा पौराणिक मान्यता अनुसार सृष्टि कर्ता ब्रह्माजीले मनबाट सृष्टिको प्रारम्भमा दश मानसपुत्रलाई जन्माए ।ब्रह्माजीका दश मानसपुत्र ऋषि तथा प्रजापति कहलिए । मानसपुत्र अत्रि,अंगरिस, पुलस्त्य, मरीचि, पुलह, क्रतु, भृगु, वसिष्ठ, दक्ष, र नारद थिए । वैदिक परम्परामा सप्तर्षिको स्थान उच्च रहेको छ । सप्तर्षिको धारणा सातवटा ऋषि भन्ने रहेतापनि विभिन्न कालखण्डमा यसको परिवर्तन भएको पाईन्छ । शतपथ ब्राह्मणमा भारद्वाज, कश्यप, मारीच, गौतम,अत्रि, विश्वामित्र, जमदग्नि र वशिष्ठलाई सप्तर्षि मानिएको छ । मानसपुत्र,सप्तऋषि जस्तै प्रसिद्ध ऋषिको समुहलाई कान्याकुब्ज भनिएको छ ।
कश्यप, भरद्वाज, शाण्डिल्य, सांकृत, कात्यायन, उपमन्यु, काश्यप, धनञ्जय, कविस्त, गौतम, गर्ग, भारद्वाज, कौशिक, वशिष्ठ, वत्स, पराशर नामक सोह्र गोत्रहरु कान्यकुब्जमा प्रसिद्ध छन् । अझ त्यसैमा कात्यायन,उपमन्यु,भारद्वाज, कश्यप,शाण्डिल्य र सांकृत गरी छ गोत्रहरु कुलीन मानिएका छन् । सनातन वैदिक समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ । एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई सङ्केत शब्दको रूपमा प्रयोग गर्ने प्रणाली हो ।वैदिक सनातन धर्ममा समाजलाई चार वेदहरू ऋग्वेद,यजुर्वेद, सामवेद, अथर्ववेद का विभिन्न शाखाहरू अन्तर्गत विभक्त गरेको पाइन्छ । खासगरी ऋगवेद, सामवेद र यजुर्वेदका विभिन्न शाखाहरू अन्तर्गत प्राचिन हिन्दु समाजला बाँडिएको देखिन्छ । हरेक समाज वा वर्गलाई एक निश्चित शाखा अन्तर्गत राखिएको छ । खासगरी गोत्र सुरुवात गर्ने सप्तऋषिहरूलाई वेदका विभिन्न शाखा अन्तर्गत राखियो र उनका सन्ततीहरूले वेदको त्यही शाखाले निर्देशित गरेको हुन्छ । चौरासी हजार ऋषिका सन्तानहरुको आआफ्नो पहिचान गोत्र,प्रवर रहेका छन । सामान्यतया निर्णय सिन्धुको आधारमा ४९ गोत्र प्रचलन देखिन्छन । सृष्टि कर्ता ब्रह्माजीका मानसपुत्र बशिष्ठ,बशिष्ठऋषिका ब्याघ्रपाद र ऋषि ब्याघ्रपादका पुत्र उपमन्यु थिए ।
उपमन्यु गोत्रीय वंशजहरु सबै उत्तम कुलका हुन् । पूर्वीय शास्त्रहरूले पनि उपमन्यु ऋषि एवं उपमन्यु गोत्रीय वंशजको स्तुति गरेका छन् । गोत्र र कुल देवी देवता निर्धारण विभिन्न आधारमा गरिएको पाइन्छ । ऋषिका वंश परम्परा अनुसार साथै गोत्र पर्वतक ऋषिका सन्तानले आफ्नै नाउँबाट वंश चलाएर, स्थापित परम्परा का प्रवर्तक भएर पनि गोत्र प्रचलनमा छन ।उपमन्यु गोत्रको वेद – यजुर्वेद हो । यजुर्वेदका दुइ भाग मध्ये शुक्लयजुर्वेद ,त्यस्तैउपवेद – धनुर्वेद , प्रवर -त्रिप्रवर उपमन्यु,कपिल,बिरुज,शाखा – माध्यन्दिन , सूत्र – कात्यायन, छन्द – अनुष्टुप , शिखा – दक्षिण , पाद – दक्षिण , देवता – शिव एवं कुलदेवता शिव गण,कुलदेवी-महाविद्या मानिएको छ।
प्रचलित गोत्र मध्ये उपमन्यु गोत्रलाई निकै महत्वपुर्ण मानिन्छ । उपमन्यु,कपिल,बिरुजबाट निरन्तर रहेको वंश परम्पराका श्रेष्ठ ब्राह्मणका रूपमा कत्युरी राजघरना संग जोडिएको पाइन्छ । कत्युरी शासन कालमा चौकी गाउँमा बसी,चम्पावत,अल्मोडा,पिथौरागढका हरेश्वर लगायत बाह्रथान शिवालयमा पुजा लगाउने पण्डित का रुपमा निकै ख्याति थियो । ठकुरी वंशका राजाले काली तरेर राज्य बिस्तार गरे संगै राज परिवार संगै जोडिएका सबै परिवार यजमानका रूपमा थिए ।सिमल्ट्या पाण्डेय, मलस्या साउन,पाली,खडका,पान,रावल,बोहरा,भट्टहरु यजमान थिए । नङरमा कोट निर्माणको घटनाबाट राजाले उनरुवा क्षेत्र छोडी अजयमेरु जादा सिमल्ट्या पाण्डेय,चौथानी पनेरु,पान,रावल,बोहरा,भट्ट संगै लगेको र देव पुजन छोडन नसकिने भनेकाले चौक्याल यतै (चाखी )चौकीमा बसेको भन्ने भनाइ छ । त्यति बेला जन संख्या घटेको , साउन संग सिमल्ट्याको झगडा परेकाले शीर्ष समैजी देवता संहित दशखलामा भाग दिएर छोरी कन्यादान दिएर थपलाको औथामा बसाएको थियो ।
उपर्युक्त पृष्ठभुमि रहेको चौक्याल पाण्डेयहरु सामान्यतया थपला केन्दित मात्र देखिन्छन । तर भनाई छ थपलाको बसाई सगै अन्य स्थानमा पनि छरिएका छन । एक भाई नेपाल,एक भाई अन्यत्र (बझाङ )गएका भन्ने छ । कुमाउको चौकी,चाखि औथा हुदै विभिन्न ठाउमा छरिएर रहेका चौक्याल पाण्डेयको वंश,वंशानुचरित,देवपुजन वृति,रीतिरिवाज ,संस्कारलाई जीवन्त राख्नका लागि पनि संगठित हुन आवश्यक छ । आज संस्कृति ,रीतिरिवाज लोप हुदैछन । धेरै सास्कारिक पद्धति जोगाउनु आवश्यक छ तर हर्दा हेर्दै मासिएका छन ।संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ तर अहिलेको पुस्तातरण आधुनिकताको नाममा बिगतलाई छोडेर अर्कै बाटोमा जादैछ । इतिहास गलत हुदैन,बिगतका सामाजिक क्रियाकलाप गलत होइनन तर कुनै लवलेश बाकि नरहि हराउदै छन । बदलिँदो समाज आगामी यो अहं बिषय बनेको छ । संस्कार,संस्कृति ,वंश, वंशानुचरित,परम्परा जोगाई राख्नु त्यस भित्र रहेका तथ्य जीवन्त राख्नु जरुरी छ।
परिवारका सदस्यको प्रतिभा उजागर गर्न,पारिवारिक सदभाव,आपसि समन्वय का लागि एकत्रित हुन जरुरी छ । चौक्याल मात्र नभएर इष्टमित्र,वन्धुवान्धवलाई पनि सहकार्यमा जोडन संगठित संस्था आवश्यक नै हुन्छ । एकल प्रयास धेरै गर्न सकिदैन त्यसमा सामुहिक प्रयास र संगठित अभ्यास आवश्यक हुन्छ । सामुहिक प्रयास र संगठित अभ्यासको शुरुआत का लागि प्रतिष्ठानको प्रारुप तयार पारिएको छ ।